युरोपबाट कुलमामान घिसिङको चेतावनी : “सही नेतृत्वबिना मुलुक अघि बढ्दैन”

बार्सिलोना – युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा राजनीति सही दिशामा नचलेसम्म समृद्धिको बाटो खोलिन नसक्ने चेतावनी दिए।

‘अहिले देशभरि झण्डै हरेक घरमा बत्ती पुगेको छ। तर केवल बत्तीको उज्यालोले पुग्दैन। सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र मुलुकलाई समृद्ध बनाउन व्यापक सुधार आवश्यक छ,’ घिसिङले भने।

प्राधिकरणमा आफ्नो कार्यकालका उपलब्धि साझा गर्दै उनले भने, ‘म आउँदा कुल उत्पादन ८०० मेगावाट थियो, अहिले करिब ४ हजार मेगावाट पुगेको छ। पाँच गुणा बढी उत्पादन भइसकेको छ र हजारौं मेगावाटका परियोजनाहरू निर्माणाधीन छन्। वार्षिक २५ अर्ब रुपैयाँ महसुल उठाउन सफल भयौं। प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौं।’

चार महिनाअघि सरकारले आफूलाई पदबाट हटाएको प्रसंगलाई व्यंग्यसहित स्मरण गर्दै उनले भने, ‘नेपाल सरकारले त्यसो नगरेको भए आज तपाईंहरूसँग भेट्ने अवसर पाउने थिइनँ।’

‘उज्यालो नेपाल अभियान’को उद्देश्यबारे स्पष्ट पार्दै उनले मुलुकका हरेक क्षेत्रमा अँध्यारो हटाएर आशा र उज्यालो फैलाउने लक्ष्य रहेको बताए। खाडी मुलुक, अमेरिका, युके, बेल्जियम, नेदरल्याण्ड्स, माल्टा हुँदै स्पेनसम्मको भ्रमणमार्फत आफूले प्रवासी नेपालीको भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको पनि उनले जनाए।

उनले संसारभर रहेका ५० लाखभन्दा बढी नेपालीको सीप, ज्ञान र अनुभवलाई नेपालमा लगानी तथा विकासमा जोड्नुपर्नेमा जोड दिए। प्रवासी नेपालीले आर्जन गरेको अनुभव र व्यवसायिक सफलता नेपालको ठूलो सम्पत्ति भएको भन्दै उनले ‘उज्यालो नेपाल अभियान’मा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्