काठमाडौं – लामो समयदेखि विवादमा रहँदै आएको विद्यालय शिक्षा विधेयक अन्ततः संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो। यसअघि विधेयकका विभिन्न प्रावधानप्रति सरोकारवालाहरूले असहमति जनाएपछि यसलाई पारित गर्न सकेको थिएन।
समितिले सहमति जुटाउन उपसमिति बनाएर पटक–पटक प्रतिवेदन तयार गरेको थियो। तर, लामो समयसम्म छलफल हुँदै आएको विधेयक यसबीचमा पारित हुन सकेको थिएन।
यसैबीच, विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आजदेखि आन्दोलन सुरू गरेका छन्। उनीहरूले विधेयकले निजी विद्यालयमाथि अतिक्रमण गर्ने दाबी गर्दै विरोधका कार्यक्रम थालेका हुन्।
पारित विधेयक अब प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि छलफलसहित पारित गरी कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।







