काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी विवादलाई राष्ट्रिय स्वाधीनता र अखण्डताको सवालका रूपमा उठाउँदै प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गराएका छन्।
सांसद शाहीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हाल देखिएका संवेदनशील चुनौतीका बिच सम्पूर्ण नेपाली एकताबद्ध हुनुपर्ने आवश्यकता झनै बढेको बताएका छन्। उनले भने, “अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाइएको देश नेपालको सिमाना हाम्रो गौरव हो। तर, नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारत र चीनबीच भएको सम्झौताले हाम्रो राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न उठाएको छ।”
शाहीले राष्ट्रियताको प्रश्नमा कुनै पनि सम्झौता स्वीकार्य नहुने उल्लेख गर्दै सबै राजनीतिक दल, नागरिक समाजका अगुवा, संघ–संस्था र आम नेपालीलाई एकैसाथ उभ्याउने पहल प्रधानमन्त्रीले तत्काल लिनुपर्ने माग गरेका छन्।
उनले थपे, “राष्ट्रिय एकता र सहकार्यबाट मात्र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा सम्भव छ। सम्पूर्ण नेपाली यसका लागि एक भएर अघि बढ्न तयार छन्।”
शाहीको भनाइ अनुसार, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने साझा अभियान अहिलेको ऐतिहासिक आवश्यकता हो।






