घोराही – गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा विद्यालयमा कार्यरत महिला सहयोगी कर्मचारी र शिक्षिकाहरुलाई तिज कोसेली उपहार स्वरुप प्रदान गरेका छन् । विद्यार्थीहरुले आफ्नै पहलमा स्वस्फूर्त रकम संकलन गरी नपुग भएको रकम विद्यालयको सहयोगमा जोडेर उक्त कोसेली वितरण गरेका हुन् । विद्यालयका महिला सहयोगी कर्मचारीहरुलाई साडी र शिक्षिकाहरुलाई श्रृङ्गारका सामग्रीहरू प्रदान गरिएको हो । यसरी वितरण गरिएको उपहारको मूल्य करिब ५० हजार रुपैयाँ बराबरको रहेको विद्यालयकी कप्तान यशु बुढाथोकिले जानकारी दिइन् ।
उनले विद्यार्थीको पहललाई विद्यालयको संस्कार र परम्पराको रुपमा समेत लिइएको उल्लेख गर्दै यसले विद्यार्थीहरूमा सामाजिक चेतना, आपसी सद्भाव र सम्मानको संस्कारलाई अझ मजबुत बनाएको बताइन् । उक्त कार्यक्रमको नेतृत्व कप्तान यशु बुढाथोकीकै अगुवाइमा सम्पन्न भएको थियो । महिलाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने उद्देश्यले गरिएको यो कार्य विद्यालय समुदायमा उदाहरणीय अभ्यासको रुपमा रहेको शिक्षक तथा कर्मचारीहरूले बताएका छन् । तिज पर्वको अवसरमा महिला कर्मचारी र शिक्षिकाहरुलाई साडी तथा श्रृङ्गार सामग्री हस्तान्तरण गरिएको क्षण भावनात्मक र आत्मीयताले भरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले विद्यार्थीहरुको यस्तो सकारात्मक सोच र व्यवहारप्रति खुशी व्यक्त गर्दै यस्ता गतिविधिले विद्यालयलाई अझ अनुकरणीय बनाउन सहयोग गर्ने बताउनुभएको छ । यसरी गुरुकुल एकेडेमीका विद्यार्थीहरुले गरेको उपहार वितरणले विद्यार्थी, शिक्षक तथा कर्मचारीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनका साथै समाजमा सम्मान र सहअस्तित्वको संस्कारलाई प्रवर्द्धन गरेको पनि उँहाले बताउनुभएको छ ।






