काठमाडौँ – कुनै समय शैक्षिक गुणस्तरमा निकै पछाडि परेको कञ्चनपुरको वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयहरूले पछिल्ला तीन वर्षमा अभूतपूर्व सुधार गरेका छन्। नगरपालिकाको विशेष शैक्षिक अभियानपछि कक्षा १२ को उत्तीर्ण दर ५ प्रतिशतबाट उकालो चढ्दै ५१ प्रतिशतमा पुगेको छ।
२०७८ सालमा वेदकोटका सामुदायिक विद्यालयहरूको अवस्था अत्यन्तै कमजोर थियो। सो वर्ष कक्षा १२ को परीक्षामा सहभागी ५०९ विद्यार्थीमध्ये २८ जना मात्र ‘सी’ ग्रेडमा पास भएका थिए। तीन विद्यालयको नतिजा त शून्य नै थियो। यो निराशाजनक अवस्थालाई सुधार गर्न २०७९ सालदेखि नगरपालिकाले विशेष शैक्षिक अभियान थालनी गरेको थियो।
नगरप्रमुख भोजराज बोहराका अनुसार, अभियान सुरु भएको पहिलो वर्ष अर्थात् २०७९ मा उत्तीर्ण दर १० प्रतिशतमा पुग्यो। यसलाई निरन्तरता दिँदा २०८० मा ३५० विद्यार्थीमध्ये १०३ जना अर्थात् २९.४ प्रतिशतले सफलता हासिल गरे। पछिल्लो वर्ष २०८१ मा भने उल्लेखनीय फड्को मार्दै ४२१ विद्यार्थीमध्ये २१५ जना अर्थात् ५१ प्रतिशतले परीक्षा उतीर्ण गरे।
यसपटक उत्तीर्ण विद्यार्थीमध्ये १७ जनाले ‘ए’ ग्रेड, ५९ जनाले ‘बी’, ११६ जनाले ‘बी प्लस’ र २० जनाले ‘सी’ ग्रेड प्राप्त गरेका छन्।
नगरप्रमुख बोहराले सुधारको श्रेय नगरपालिकाको निरन्तर लगानी र विद्यालयहरूको सक्रियतामा दिएको छ। “हामीले तीन वर्षमा धेरै मेहनत गर्यौं। २०७९ सालदेखि कक्षा १० र १२ का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्यौं। अहिले त्यो मेहनत फल दिन थालेको छ,” उनले बताए।
पाँच प्रतिशतदेखि ५१ प्रतिशतसम्मको यो ऐतिहासिक यात्रा वेदकोट नगरपालिकाका लागि मात्र होइन, देशभरका सामुदायिक विद्यालयका लागि पनि प्रेरणादायी बन्न सक्ने देखिन्छ।






