काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभामा तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली संसद् बैठकमा उपस्थित हुन नसकेका हुन्।
आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा राख्ने जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय गरिएको थियो। प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने प्रावधान रहेको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण विशेष कारणवश आजको बैठकको कार्यसूचीबाट प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी गराएका छन्।






