काठमाडौँ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका नेपालीमध्ये ४ जनाको शव नेपाल ल्याइएका छन् । नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार ती शव नेपाल पठाई परिवारलाई बुझाइएको छ भने थप एक जनाको शव बुधबार पठाइने तयारी भइरहेको छ।
गत सातादेखि क्रमशः विषाक्त मदिरा सेवनका कारण १२ नेपाली श्रमिकको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ । मृत्यु भएका बाँकी श्रमिकहरूको शव पठाउने प्रक्रिया चलिरहेको आचार्यले जानकारी दिए। उनका अनुसार हाल कुवेतका विभिन्न अस्पतालमा १५ जना नेपाली उपचाररत छन्, जसमा १२ जना आईसीयूमा छन्।
कुवेतमा कानूनी रूपमा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध भए पनि लुकीछिपी बिक्री हुने मदिरा सेवन गर्दा नेपाली श्रमिकहरू प्रभावित भएको बताइएको छ। सो घटनामा केही नेपाली पक्राउ परेको समाचारसमेत आएका छन्, तर दूतावासले यसबारे थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ। यसैबीच, आज प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा भएको उक्त दुःखद घटनाबारे सरकारले संसद्मा विस्तृत जानकारी दिनुपर्ने माग गरेका छन्। हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली श्रमिक कार्यरत छन्।






