काठमाडौँ – प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बुधबारको बैठकमा उपसभामुख इन्दिरा राना मगरको अमेरिका भ्रमणबारे कांग्रेस र माओवादी सांसदहरूले प्रश्न उठाएका छन्।
बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई हटाउने चर्चा चलिरहेको भन्दै जानकारी मागेपछि सभामुख देवराज घिमिरेले उपसभामुख व्यक्तिगत कार्यक्रममा अमेरिका गएको स्पष्ट पारे।
त्यसपछि कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख कुन कार्यक्रममा सहभागी हुन गएको हो भन्ने प्रश्न उठाउँदै “उहाँ सांसदसँग सम्बन्धित कार्यक्रममा जानुभएको हो कि कुनै एनजीओ–आइएनजीओको कार्यक्रममा? रातो पासपोर्ट बोकेर पटक–पटक विदेश जान मिल्छ कि मिल्दैन?” भन्दै शंका प्रकट गरे।
खतिवडाले बारम्बार संसदीय समितिहरूमा एनजीओ–आइएनजीओको गतिविधि रोक्न माग गर्ने तर स्वयं त्यस्ता कार्यक्रममा सहभागी हुने प्रवृत्ति स्वीकार्य नहुने भन्दै खर्च कसले व्यहोरेको हो भनेर स्पष्ट पार्न माग गरेका थिए। यस क्रममा खतिवडा र सभामुखबीच सवाल–जवाफसमेत भएको थियो।
सभामुख घिमिरेले उपसभामुख सहभागी भएको कार्यक्रम संसदीय नहुने जानकारी दिएका छन्।
यसैबीच, एमालेले उपसभामुख मगरको आचरणमाथि प्रश्न उठाउँदै उनलाई पदमुक्त गर्न सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ। एमाले स्रोतका अनुसार उपसभामुख विदेशमै रहँदा ‘राम्रो सन्देश नजाने’ भन्दै स्वदेश फर्किएलगत्तै हटाउने प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ।
उपसभामुख राना मगर आगामी भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम छ।






