गाजामा ६० दिने युद्धविरामका लागि हमास सहमत, बन्धक दुई चरणमा रिहा गर्ने तयारी

गाजा पट्टीको एक हिस्सा । तस्बिर : एपी/रासस

काठमाडौँ – गाजामा जारी युद्धबीच हमासले ६० दिने युद्धविरामका लागि सहमति जनाएको छ। बीबीसीले उद्धृत गरेका स्रोतअनुसार इजिप्ट र इजरेलले अमेरिकाको पहलमा तयार पारिएको प्रस्तावलाई आधार बनाएर नयाँ योजना अघि सारेका थिए। सो प्रस्तावमा हमासले कुनै हेरफेर वा शर्त नराखी लिखित रूपमा सहमति जनाएको बताइएको छ। युद्धविरामको अवधिमा हमासले आफूसँग रहेका करिब ५० इजरेली बन्धकमध्ये आधा दुई चरणमा रिहा गर्ने जनाएको छ। तीमध्ये करिब २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसबारेमा प्रत्यक्ष प्रतिक्रिया नदिए पनि हमास ठूलो दबाबमा रहेको टिप्पणी गरेका छन्। गत साता उनले बन्धकहरूको आंशिक रिहाइको विषयमा कुनै छलफलको ढोका बन्द रहेको बताएका थिए। यसैबीच इजरेली सेनाले गाजा सिटीमा हमासविरुद्ध आक्रमण तीव्र बनाएको जनाएको छ। दक्षिणी साब्रामा ट्याङ्क परिचालन गर्दै सेनाले विस्थापितहरू बस्ने विद्यालय र संयुक्त राष्ट्रसङ्घीय क्लिनिकलाई घेराबन्दी गरेको विवरण सार्वजनिक भएको छ।

हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल हाल कायरोमा रही मध्यस्थकर्ताहरूसँग छलफलमा संलग्न छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी पनि वार्तालाई चाँडो निष्कर्षमा पुर्‍याउन सोमबार कायरो पुगेका छन्। अघिल्ला प्रस्ताव अस्वीकार गर्दै आएको हमासले यस पटक सहमति जनाउनुमा बढ्दो युद्धको दबाब र मानवीय संकटलाई मुख्य कारणका रूपमा हेरिएको छ। युद्धविराम र बन्धक रिहाइबारे अब इजरेलको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्