काठमाडौं – सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने गृहकार्य तीव्र पारेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा मंगलबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक उपसभामुख हटाउने विषयमा केन्द्रित भएको एक नेताले जानकारी दिएका छन्। सोही क्रममा कांग्रेसले आफ्ना सांसदहरूलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उपस्थित हुन आह्वान गरेको छ। सांसदहरूले हस्ताक्षर गर्ने तयारी रहेको बुझिएको छ। यसअघि सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवासहित कांग्रेस–एमाले शीर्ष नेताबीच बालुवाटारमा पनि उपसभामुख हटाउने विषयमा छलफल भएको थियो।
उपसभामुखलाई पदबाट हटाउन २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ अर्थात् १८४ मत आवश्यक छ। कांग्रेस (८८) र एमाले (७८) को मत मात्र पुग्दैन। त्यसैले उनीहरूले जनता समाजवादी (७), लोसपा (४) र जनमत पार्टी (६) को मतसहित पनि दुई तिहाइ नपुग्ने भएकाले नेकपा (एकीकृत समाजवादी) को सहयोग लिन खोजेका हुन्।
उपसभामुख राना मगरले अमेरिकी दूतावासमा पत्र लेखी भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेपछि उनी आलोचनामा परेकी थिइन्। सो घटनापछि कांग्रेस र एमालेका सांसदहरूले प्रतिनिधि सभामै उनको राजीनामा माग गरेका थिए। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उजुरी परेको थियो। त्यही उजुरी परेको ठ्याक्कै एक वर्षपछि अहिले पदमुक्त गर्ने तयारी तीव्र बनेको हो। उपसभामुख संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले हाल परिषद्को बैठक सञ्चालनमा अवरोध आएको छ। सत्ता र प्रतिपक्षबीच परिषद्मा बराबरी सदस्य हुने व्यवस्थाले निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत संवैधानिक नियुक्ति टारेको छ। कांग्रेसले उपसभामुख पदमा दाबी गर्दै आएको छ भने, राज्य व्यवस्था तथा सुशासन समितिको अध्यक्षता एमालेलाई दिने समझदारी भइरहेको छ।
रास्वपाबाट निर्वाचित राना मगर माओवादी, एमाले र रास्वपा सरकारमा हुँदा उपसभामुख बनेकी थिइन्। अहिले भने उनको पदसम्बन्धी राजनीतिक अंकगणित नयाँ सत्ता समीकरणमा निर्णायक बन्न पुगेको छ।






