काठमाडौं – पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्ट रानीकोटका अध्यक्ष तथा सञ्चालक रामसुन्दर बकेले पर्यटन विभागको अनुमतिबिनै सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा सरकारी कार्यक्रम नगर्न सुझाव दिएका छन् ।
पर्यटन व्यवसायी समेत रहेका बकेका अनुसार पर्यटन व्यवसाय नै कानुनी हैसियत र पारदर्शितामाथि आधारित हुने क्षेत्र भएकाले सरकारले नै दर्ता नभएका होटल–रिसोर्टमा कार्यक्रम सञ्चालन गरे व्यवसायिक शिष्टाचार मात्र होइन, सम्पूर्ण पर्यटन क्षेत्रकै विश्वसनीयतामा आघात पुग्नेछ ।
बकेले भने, “दर्ता नभएका ठाउँमा कार्यक्रम गर्नु भनेको भविष्यमा हुने विवाद र जटिलतालाई आमन्त्रण गर्नु हो । पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउनका लागि नियमको कडाइका साथ पालना अपरिहार्य छ ।”
उहाँले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न र पर्यटन व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन कानुन पालना सबै पक्षको साझा दायित्व भएको प्रष्ट पारे ।






