नेवार समुदायको परिकार ‘यःमरी’ अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत

काठमाडौँ –  नेवार समुदायको परम्परागत परिकार यःमरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै यःमरीलाई सूचीकरणमा पारेको जानकारी दिएको हो ।

मन्त्रालयले गत वर्ष भदौ ३१ गतेको निर्णयअनुसार कार्यविधि बनाएर सूचीकरणका लागि आह्वान गरेको थियो । प्राप्त १०५ वटा आवेदनमध्ये यस वर्ष केवल यःमरी मात्र सूचीकरणमा परेको मन्त्रालयले जनाएको छ ।

ललितपुरका नेवार समुदायले आवश्यक प्रक्रिया र प्रमाण पेश गरेपछि मूल्याङ्कन तथा सिफारिस समितिको सुझावका आधारमा यःमरीलाई सूचीकृत गरिएको हो ।

नेपाल भाषामा ‘यःमरी’ को अर्थ मन पर्ने रोटी भन्ने हुन्छ । चामलको पिठोबाट तयार पारिएको रोटिभित्र चाकु (पाकेको गुड) राखेर बनाइने यो परिकार नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक अङ्ग हो । विशेषगरी धान्य पूर्णिमाका दिन यो परिकारलाई यःमरी पुन्ही नामक पर्वका रूपमा नेवार समुदायले धुमधामका साथ मनाउने गर्छन् ।

मन्त्रालयका अनुसार समुदायको सांस्कृतिक पहिचान, अभ्यास र परम्पराको संरक्षण तथा अभिलेखीकरणलाई निरन्तरता दिन यो वर्षदेखि अभौतिक सांस्कृतिक सम्पदाको सूची सार्वजनिक गर्न थालिएको हो ।

अभौतिक सांस्कृतिक सम्पदाअन्तर्गत मौखिक परम्परा र अभिव्यक्ति, अभिनय तथा मञ्चन कला, सामाजिक व्यवहार, अनुष्ठान र पर्व–जात्रा, परम्परागत खेल, खाद्य परिकारका सीप, पहिरन र आभूषणसम्बन्धी ज्ञानलगायत १० क्षेत्रलाई समेटिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्