काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–९, काडाँघारीमा अवस्थित हिमालय टोल सुधार समाजको २२औं स्थापना दिवस विशेष कार्यक्रमका साथ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभयो। उहाँले समाजले स्थानीय स्तरमा देखाएको सामाजिक सद्भाव, सामूहिक नेतृत्व र निरन्तर प्रगतिप्रति प्रशंसा गर्दै भन्नुभयो, “हिमालय टोल सुधार समाजले कागेश्वरी मनोहरा नगरपालिकाभित्र उदाहरणीय भूमिका निर्वाह गर्दै आएको छ। यसको अनुशासन, समर्पण र समुदायप्रतिको निष्ठा साँच्चिकै सिक्न लायक छ।”
मेयर कार्कीले टोलले निर्वाह गरेको सामाजिक उत्तरदायित्व अन्य टोल विकास संस्थाका लागि प्रेरणादायी भएको उल्लेख गर्दै यस्ता संस्थाहरू नै समृद्ध नगरको आधारस्तम्भ हुने बताउनुभयो। उहाँले स्थानीय सरकार यस्ता सामाजिक संस्थासँग सधैं हातेमालो गर्दै अघि बढ्ने आश्वासन पनि दिनुभयो।
विशिष्ट अतिथिका रूपमा नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, वडा नं. ९ का अध्यक्ष अनिल थापा, वडा नं. ७ का अध्यक्ष भीमसेन थापा सहभागी हुनु भएको थियो। त्यसैगरी नगर सदस्यहरू राजेन्द्र थापा, भगवती पाण्डे, मन्जु थापा, सिताराम आचार्य, भक्त थापा, छिमेकी टोल सुधार समाजका अध्यक्ष भाइगरथी पन्त, तुलसीप्रसाद आचार्य, मेलमिलाप समिति संयोजक लोकेन्द्र बस्नेत, टोल सुधार समाजका सल्लाहकार, पूर्व अध्यक्षहरू, स्थानीय स्थायी तथा अस्थायी बासिन्दा लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम समाजका अध्यक्ष गया प्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो। स्थापना दिवसकै अवसरमा बिहान कलश यात्रा, पूजा आजा, तीजको दर सहित प्रसाद ग्रहण तथा विविध सांस्कृतिक प्रस्तुति आयोजना गरिएको थियो। कार्यक्रममा समाजको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा भाबकेशर बरालले स्वागत मन्तव्य राख्नुभएको थियो भने गणेश बाबु पोखरेलले टोल सुधार समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रम सञ्चालन समाजका सचिव लीला दाहालले गर्नुभएको थियो।







