काठमाडौं– काठमाडौंको शंखमुलस्थित नेरीक एकेडेमीले शनिबार अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा उपत्यकाका २६ विद्यालयहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा सहभागी समूहहरूले तीज विशेष गीतमा आधारित अधिकतम पाँच मिनेटभित्रको नृत्य प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रस्तुति गर्ने समूहलाई नगद, ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार गोल्डेन पिक स्कुलले, द्वितीय पुरस्कार कस्मिक इन्टरनेशनल एकेडेमीले र तृतीय पुरस्कार एआइए स्कुलले हात पारेका छन्। त्यस्तै, एन्जल लर्ड एकेडेमी, बेदव्यास बोर्डिङ स्कुल, काठमाडौं भ्याली स्कुल, न्यू नलेज स्कुल, नविन ज्योति स्कुल, नेसनल मोडल स्कुल र नेक्सस स्कुल उत्कृष्ट १० विद्यालयमा पर्न सफल भएका छन्।
प्रतियोगितामा उत्कृष्ट पाँच विद्यालय समूहलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। जसअन्तर्गत प्रथम स्थान प्राप्त गोल्डेन पिक स्कुलले २० हजार रुपैयाँ, द्वितीय स्थान प्राप्त कस्मिक इन्टरनेशनल एकेडेमीले १५ हजार रुपैयाँ, तृतीय स्थान प्राप्त एआइए स्कुलले १० हजार रुपैयाँ तथा दुई सान्त्वना समूहले जनही ५ हजार रुपैयाँसहित सम्मान पाए। यस्तै उत्कृष्ट १० विद्यालय समूहलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विद्यार्थीहरूको सिर्जनशीलता र सांस्कृतिक चासोलाई प्रशंसा गर्दै भन्नुभयो, “यस्ता प्रतियोगिताहरूले नयाँ पुस्तामा संस्कृतिप्रतिको लगाव बढाउने मात्र होइन, नेपालीपनको पहिचानलाई पनि बलियो बनाउन सहयोग गर्छ।”
नेरीक एकेडेमीका प्रिन्सिपल मिलन कँडेल क्षेत्रीले भने, “हामीले यस प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने मात्र होइन, नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पनि सन्देश दिन चाहेका छौं।”
शनिबार बिहान १० बजे सुरु भएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।







