इस्लामाबाद – पाकिस्तानमा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेहरूको संख्या बढ्दै गएको छ। पछिल्लो विवरणअनुसार ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ।
सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ मात्रै कम्तीमा १८० जनाको ज्यान गएको पुष्टि भएको छ। त्यस्तै, कश्मीर क्षेत्रमा नौ जना र गिलगित–बाल्टिस्तानमा पाँच जनाले ज्यान गुमाएका छन्।
उद्धार कार्यमा खटिएको एक हेलिकप्टर समेत दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। मौसम अत्यन्त खराब भएका कारण दुर्घटना भएको पाकिस्तानको विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।
सरकारले बुनर, बजौर, मानसेहरा, बट्टाग्रामलगायतका जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। साथै आज एक दिनलाई राष्ट्रिय शोक मनाइने घोषणा गरिएको छ।
जलवायु परिवर्तनका कारण पाकिस्तानमा हालै चरम मौसमका घटनाहरू तीव्र रूपमा बढ्दै गएको विज्ञहरूले औंल्याएका छन्।






