काठमाडौं – रुस–युक्रेन युद्ध अन्त्यका लागि केही महिनादेखि सक्रिय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न लागेका छन्। युद्धविरामका लागि सहमत हुन वा व्यापक अमेरिकी प्रतिबन्धको सामना गर्न रुसलाई दिइएको समयसीमाको अन्तिम दिनमै ‘शिखर बैठक’ हुन लागेको हो।
ट्रम्पको चाहनामा यसअघि तीन चरणमा रुस र युक्रेनबीच वार्ता भए पनि दुवै पक्षलाई स्थायी शान्तिको नजिक ल्याउन सकेको छैन। गत जनवरीमा ह्वाइट हाउस प्रवेश गर्नुअघि नै ट्रम्पले युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए। राष्ट्रपति बनेको २४ घण्टा नबित्दै उनले युद्ध समाप्त गर्ने दाबी गरेका थिए। तर त्यसयता निरन्तर प्रयास हुँदाहुँदै पनि उनको प्रशासनले ठोस सफलता हात पार्न सकेको छैन।
गत महिना बीबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले पुटिनले आफूलाई निराश पारेको स्वीकार गरेका थिए। उनले पुटिनलाई तत्काल युद्धविराममा सहमत हुन चेतावनी दिँदै शुक्रबारसम्मको समयसीमा दिएका थिए।
आजको उच्चस्तरीय बैठकमा पुटिन र ट्रम्पबाहेक अरू को–को सहभागी हुने भन्ने विषय स्पष्ट छैन। अमेरिकी सञ्चारमाध्यमका अनुसार यदि वार्ता सफल भएमा ट्रम्प, पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अर्को बैठकको सम्भावना रहेको छ।






