टप एण्ड टी–२० सिरिजमा आज नेपाल र एनटी स्ट्राइक आमनेसामने

काठमाडौं – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन् भने एनटी स्ट्राइकको नेतृत्व जेक वेदराल्डले गर्नेछन्।

सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको एनटी स्ट्राइक गत वर्ष सेमिफाइनलमा पुगेको थियो। यसपटक टोलीमा बिग ब्यास लिगको अनुभव बोकेका स्टार खेलाडीहरू रहेका छन्। डार्सी शर्ट पावरप्लेमा खेलको रुख पल्टाउन सक्षम मुख्य आकर्षणका रूपमा छन्। उनी अष्ट्रेलियाको सिनियर टोलीबाट टी–२०आई खेलिसकेका छन्। उनका कप्तान जेक वेदराल्डले सेफिल्ड शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलिया ‘ए’ का लागि शतकीय इनिङ खेलेका छन् र आगामी एशेजमा टेस्ट डेब्यू गर्ने चर्चामा छन्। त्यसैगरी जोर्डन सिल्क तीन पटक बिग ब्यास जितेका अनुभवी खेलाडी हुन्, जसले आक्रामक ब्याटिङसँगै उत्कृष्ट फिल्डिङका लागि पनि नाम कमाएका छन्। बलिङतर्फ अष्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय पेसर केन रिचार्डसन छन्।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा चल्ने प्रतियोगितामा नेपालसहित ११ टोलीले ३६ लिग खेल खेल्नेछन्। नेपालले आगामी खेलहरूमा बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग सामना गर्ने कार्यक्रम छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्