देशभर वर्षा, सप्तकोशीमा बहाव बढ्दा २३ ढोका खोलियो

काठमाडौँ- सक्रिय मनसुनी प्रणालीका कारण देशभर वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रबाहेक अधिकांश स्थानमा वर्षा भएको छ भने सुदूरपश्चिमबाहेक धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। काठमाडौँ उपत्यकासहित गण्डकी र लुम्बिनी प्रदेशमा अपेक्षाकृत बढी पानी परेको छ। गत १२ घण्टामा उदयपुरको गाईघाटमा १०२ मिमी, इलामको कन्याम र सप्तरीको बारमझियामा ८९ मिमीभन्दा बढी वर्षा भएको छ।

हिजोदेखि मधेश प्रदेशमा पनि उल्लेख्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति सबै प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाले सप्तकोशी नदीमा बहाव बढेर मंगलबार दिउँसो १ लाख ९० हजार क्युसेक प्रतिसेकेन्ड नाघेपछि कोशी ब्यारेजका ५६ मध्ये २३ ढोका खोलिएका छन्। खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ।

लगातारको वर्षापछि पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदो २४ घण्टासम्म बाढी, पहिरो र डुबानका जोखिमबारे सचेत रहन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्