काठमाडौँ – काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठ नै रहने भएकी छिन्।
काठमाडौंमा हालै सम्पन्न नाउपाको राष्ट्रिय भेलाले साउन १५ गते लालवीर चौधरीलाई अध्यक्ष चयन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो। तर आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानको आधारमा श्रेष्ठलाई नै अध्यक्ष कायम गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम नहुँदा मान्यता दिन सकिएन। लालवीर चौधरी नाउपा संरक्षक तथा पूर्व सांसद रेशम चौधरीका पिता हुन् भने रञ्जिता श्रेष्ठ रेशमकी श्रीमती हुन्। यसअघि रेशमले श्रीमतीलाई अध्यक्ष पदबाट हटाएर बाबुलाई अध्यक्ष बनाउने निर्णय गरेका थिए तर आयोगले स्वीकृति दिएको छैन। नाउपाले २०८० सालमा पहिलो महाधिवेशन गरेर रेशम चौधरीलाई अध्यक्ष बनाएको थियो। तर त्यतिबेला पनि निर्वाचन आयोगले मान्यता नदिई रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष पदमा कायम राखेको थियो।






