भट्टराईको ऐतिहासिक राजीनामा स्मरण गर्दै– ‘पदलाई होइन, प्रश्नलाई माथि राखेँ’
काठमाडौं — संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादका बीच प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि यस प्रकरणमा आलोचनाको सामना गरिरहेका खतिवडाले प्रतिनिधिसभा बैठकको रोस्टमबाट सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
राजीनामा घोषणाअघि उनले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको २०५६ साल चैत ३ गतेको ऐतिहासिक राजीनामाको प्रसंग स्मरण गरे। “देशभक्ति दण्डित हुने भीम मल्ल, भीमसेन थापाका कथा–व्यथाको अभिशब्द इतिहासबाट हामी नेपालीले कहिले छुटकारा पाउने हो?” भट्टराईको भावुक अभिव्यक्ति उद्धृत गर्दै खतिवडाले आफू पनि त्यसरी नै ‘सिकार’ भएको टिप्पणी गरे।
खतिवडाले आमाको नामबाट नागरिकता पाउने विधेयक पारित गरेको प्रसंग पनि उठाउँदै सो विधेयकमा आफ्नो ‘गल्ती के थियो?’ भनेर प्रश्न गरे। ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनी आफैं अघि सरेको तर अन्ततः दण्डित पनि आफू भएको गुनासो गर्दै उनले भने, “यो विषयमा मेरो कुनै स्वार्थ थिएन, समितिका कुनै सदस्यको पनि स्वार्थ थिएन। संवैधानिक संयन्त्रलाई निष्पक्ष र दर्बिलो बनाउन चाहेका थियौं, जसको कुनै श्रेय पाइएन, बरु अपजस मात्र आइलाग्यो।”
“कृष्णप्रसाद भट्टराईबाट शिक्षित अनुयायी हुँ म। नखाएको विष लाग्दैन। प्रतिवेदनमा मलाई न मुख्य दोषी भनिएको छ, न राजीनामा गर्न सिफारिस गरिएको छ। तर ‘जिम्मेवार’ भन्ने शब्द प्रयोग भएको हुँदा जिम्मेवारी बोध गर्दै पदबाट हाँसी–हाँसी राजीनामा दिएको हुँ,” खतिवडाले संसद्मा भने। उनीले पदभन्दा प्रश्न र नैतिकतालाई माथि राखेको दाबी गर्दै प्रतिवेदन सबैले ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरे।






