दाङ -गुरुकुल एकेडेमी घोराहीको आयोजनामा सुरु भएको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खेलकुद केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई, अनुशासन, स्वास्थ्य र एकताको उत्कृष्ट माध्यम भएको बताउनुभयो। उहाँले खेलकुदमार्फत विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्तीका साथै आपसी सद्भाव र टोली भावना विकास हुने भन्दै विद्यालयस्तरमै यस्ता प्रतियोगिताको आयोजना हुनु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो। “आजका विद्यार्थी भोलिका राष्ट्रका मेरुदण्ड हुन्। खेलले उनीहरूलाई नेतृत्व क्षमता, समय व्यवस्थापन र सहिष्णुताको पाठ सिकाउँछ,” मेयर चौधरीले भन्नुभयो।
गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शान्तिसुधा बोर्डिङ स्कुलका प्रधानाध्यापक विनयकुमार मिश्र, पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, र बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको स्वागत मन्तव्य बाट भएको थियो भने सहजीकरण शिक्षक बिबेक देवकोटाले गर्नुभएको थियो।
प्रतियोगिताको पहिलो दिनमा भएका खेलहरूमा गोरखा ‘बी’ समूहले गुरुकुल ‘बी’ समूहलाई ५८–२५ अंकले, गोरखा ‘ए’ समूहले जनज्योति ‘सी’ समूहलाई ८८–१८ अंकले पराजित गरेको छ। त्यस्तै, गुरुकुल ‘ए’ समूहले शान्तिसुधालाई ८१–१२ अंकले, शान्तिसुधाले पद्यमोदयलाई २०–१७ अंकले, र गुरुकुल ‘बी’ समूहले दिपशिखालाई ३०–१९ अंकले हराउँदै विजय हासिल गरेका छन्। आयोजक गुरुकुल एकेडेमीका अनुसार चार दिनसम्म चल्ने प्रतियोगितामा दाङ जिल्लाका विभिन्न विद्यालयका १४ टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।






