काठमाडौँ, २६ साउन — गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता उपलब्ध गराउने उद्देश्यसहित नागरिकता सम्बन्धी कानुन संशोधन अघि बढाइएको बताएका छन्।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधेयक २०८१ मा सिद्धान्तिक छलफलका क्रममा मन्त्री लेखकले सन्तानको पहिलो संरक्षक आमा हुने भएकाले आमालाई नै जिम्मेवार बनाउने व्यवस्था विधेयकमा गरिएको जानकारी दिए।
उनका अनुसार आमा “यो मेरो सन्तान हो” भनी स्वघोषणा गरेमा र बुवाको पत्ता नलाग्ने वा प्रमाण उपलब्ध नगराएमा नागरिकता दिने व्यवस्था गरिएको छ। साथै, आमाको स्वघोषणा गलत ठहरेमा कारबाहीको प्रावधानसमेत राखिएको छ।
मन्त्री लेखकले अंगीकृत नेपाली नागरिकता बाबुको आधारमा पाउने प्रावधानमा पनि आमाले स्वघोषणा गर्नुपर्ने व्यवस्था थपिएको बताए। बुबाको मृत्यु, सहयोग नगरेको अवस्था वा अर्को विवाह गरेर गएको अवस्थामा आमाको नामबाट नागरिकता दिने प्रक्रिया सरल बनाइएको उल्लेख गरे।
सर्वोच्च अदालतको निर्देशकात्मक आदेशअनुसार विधेयक अघि बढाइएको भन्दै उनले नागरिकता नहुँदा धेरै बालबालिकाले अध्ययन र विकासमा भोगिरहेको समस्या समाधान गर्ने लक्ष्य राखिएको स्पष्ट पारे।






