रविलाई धरौटीमा थुनामुक्त गर्ने कि थुनामै राख्ने भन्ने आदेश आजै आउने

भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको मागमा जिल्ला अदालत रुपन्देहीमा दायर गरिएको निवेदनमाथि सोमबार सुनुवाइ भइरहेको छ। अदालतका श्रेस्तेदार विकास बस्नेतका अनुसार सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना छ।

‘अहिले निवेदनमाथि सुनुवाइ भइरहेको छ,’ बस्नेतले भने, ‘सुनुवाइ सकिएपछि लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा थुनामुक्त गर्ने कि थुनामै राख्ने भन्ने आदेश आउनेछ।’

सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बैंक ग्यारेन्टीमार्फत रिहाइको माग गर्दै साउन १९ गते अदालतमा निवेदन दर्ता गरेका थिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत र दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले बिगो बराबरको रकम बैंक ग्यारेन्टी पेश गरेका हुन्।

न्यायाधीश नारायण सापकोटाको इजलासमा भइरहेको सुनुवाइमा लामिछाने पक्ष र सरकारी वकिल दुवैको तर्फबाट बहस हुनेछ। त्यसपछि इजलासले आदेश दिनेछ।

यसअघि, साउन १९ गते न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पेशीको सूचना दिने आदेश गरेको थियो। पूरक पेशी साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ गते न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेपनि लामिछानेका कानुन व्यवसायीको आग्रहमा दुवै दिन स्थगित भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्