धनगढी — शनिबारदेखि तनावग्रस्त बनेको कैलाली कारागारमा कैदीबन्दीको नियन्त्रण तोड्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले हतियारसहित प्रवेश गरेका छन्। कैदीबन्दीका दुई समूहबीच भएको भीषण झडपका कारण कारागारमा ४० घण्टादेखि सुरक्षाकर्मी प्रवेश गर्न नसकेका थिए। झडपमा एक जनाको मृत्यु भएको र ४९ जना घाइते भएको पुष्टि भएको छ।
आइतबार अपरान्ह मानव अधिकार आयोगको प्रदेश कार्यालय, धनगढीको रोहबरमा संयुक्त सुरक्षाकर्मी टोली कारागारभित्र प्रवेश गरेको हो। प्रवेशअघि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका कारण सुरक्षाकर्मी, प्रशासनका प्रतिनिधि तथा अन्य कसैलाई पनि भित्र पस्न दिइएको थिएन।
भर्खरै प्रवेश गरेको सुरक्षाकर्मी टोलीले कारागारको ब्लक ए र ब्लक बीमा खोजतलास सुरु गरेको छ। कारागारभित्रका कैदीबन्दीको वास्तविक संख्या समेत अनिश्चित रहेकोले सुरक्षाकर्मीहरूले कैदीबन्दीको गणना पनि गर्ने तयारी गरेका छन्। घटनास्थलमा अझै पनि तनाव कायम रहेकाले सुरक्षाकर्मी उच्च सतर्कतामा खटिएका छन्।






