सुर्खेत – दैलेखमा एक १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् ।
तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
प्रहरीका अनुसार साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किँदै थियो । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको दैलेख प्रहरीले जनाएको छ ।
दैलेख प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






