काठमाडौँ – कैलाली कारागारमा शुक्रबार राति भएको भीषण झडपपछि जेलर परिवर्तन गरिएको छ। जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई पठाइएको छ। भुसाल शनिबार दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्।
शुक्रबार रातिको घटनामा धनगढी–४ का ३५ वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदी घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको छ। बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। केही समयका लागि कैदीहरूले कारागारकै नियन्त्रण लिएका थिए, जसलाई नियन्त्रणमा लिन प्रहरीलाई निकै कठिनाइ भएको थियो।
घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र घटनाको कारण पत्ता लगाई प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। यसैबीच, गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी कारागार सुरक्षासम्बन्धी उपायहरूबारे निर्देशन दिएका छन्।






