सह–महामन्त्री चयन विधि सुधार गर्न सांसद तोसिमा कार्कीको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा. तोसिमा कार्कीले सह–महामन्त्री चयन प्रक्रियामा विधि पालना गर्नुपर्नेमा जोड दिएकी छन्। शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा दीपक बोहरालाई सह–महामन्त्री प्रस्ताव गरिएपछि उनले व्यक्तिको नभई विधिको विरोध गरेको स्पष्ट पारेकी छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै कार्कीले रिक्त सह–महामन्त्री पदमा आफ्नो कुनै दाबी नरहेको बताइन्। “पार्टीले उक्त पदमा इच्छुक र योग्य महिलाबाट विधिसम्मत रूपमा नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो,” उनले लेखेकी छन्।

उनका अनुसार, शुक्रबारको बैठकमा एजेन्डामै नभएको प्रस्ताव पेश भएपछि आफू र केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले असहमति जनाएका थिए। त्यसपछि प्रस्ताव फिर्ता लिइएको र थप गृहकार्यपछि मात्र निर्णय गर्ने सहमति भएको उनले जानकारी दिइन्।

“पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समितिमा गहिरो छलफल हुन्छ, तर सबै कुरा बाहिर ल्याउन आवश्यक हुँदैन,” कार्कीले लेखेकी छन्। उनले आफूलाई पदलोलुप देखाउने गलत भाष्य नगर्न आग्रह गर्दै, कुनै पनि पदमा दाबी गर्नुपरे चुनावमार्फत नै आउने अडान दोहोर्याइन्। संसद सदस्य सुमना श्रेष्ठको राजीनामापछि रास्वपामा दुई सह–महामन्त्रीमध्ये एक पद रिक्त छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्