काठमाडौँ – नेपाल व्यापार संघको आयोजनामा यस वर्ष पनि तीज विशेष कार्यक्रम हुने भएको छ। संघका अनुसार आगामी साउन ३० गते शुक्रबार कोटेश्वर महादेवस्थासँगै रहेको लोटस पार्टी प्यालेसमा भव्य तीज विशेष कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष हरि गौतमको अध्यक्षता रहनेछ भने प्रमुख अतिथि प्रदेश सभा सदस्य सोना परियार रहनुहुनेछ ।
नेपाल व्यापार संघका अध्यक्ष गौतमले संघमा आवद्ध सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य तथा संघको सम्पूर्ण टीमलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा संघले प्रत्येक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएको छ, जसको उद्देश्य मौलिकता जोगाउँदै सांस्कृतिक एकता प्रवर्द्धन गर्नु हो।
अध्यक्ष गौतमले सम्पूर्ण दिदीबहिनीहरुलाई तीजको हार्दिक शुभकामना व्यक्त गर्दै यो पर्वलाई केवल मनोरञ्जनको रूपमा मात्र नभई संस्कृतिको संरक्षण र मौलिकता जगाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।
नेपाल व्यापार संघले यसअघि पनि विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको छ। यस वर्षको तीज विशेष कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा आपसी भेटघाटको अवसर रहनेछ।






