मधेश प्रदेशमा धान रोपाइँ ७६.५४ प्रतिशत पुग्यो

सांकेतिक तस्बिर

धनुषा – पछिल्लो एक सातादेखि परेको वर्षाले मधेश प्रदेशमा धान रोपाइँको प्रगति उल्लेख्य रूपमा बढेको छ। सिंचाइ अभावका कारण साउनको दोस्रो हप्तासम्म ५० प्रतिशतभन्दा केही बढी मात्र रोपाइँ भएकोमा, हिजो बेलुकासम्म ७६ दशमलव ५४ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार पछिल्लो वर्षाले नयाँ रोपाइँमा सहयोग गर्नुका साथै पहिले रोपिएको धानमा पनि सिंचाइ पुगेको छ।निर्देशनालयको विवरणअनुसार आठ जिल्लामध्ये सबैभन्दा बढी बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहटमा ८५ दशमलव ९ प्रतिशत रोपाइँ भएको छ। त्यस्तै सर्लाहीमा ७५ प्रतिशत, धनुषा र सिरहामा ७० प्रतिशत, सप्तरीमा ७० प्रतिशत तथा महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्र बाहेक देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा भएको छ। आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा, र बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमतीका पहाडी भाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्