घाना — घानाको अशान्ति क्षेत्रमा हिजो भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ। दुर्घटना पछिल्लो दशक यताकै सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक भएको समाचार संस्था एपीले जनाएको छ।
ज्यान गुमाउनेहरूमा सत्तारूढ नेशनल डेमोक्रेटिक कंग्रेस (NDC) का उपाध्यक्ष सामुएल सर्पोङ, राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद तथा चार जना चालक दलका सदस्य पनि रहेका छन्। राजधानी आक्राबाट सुनखनन क्षेत्र ओबुआसीतर्फ जाँदै गरेको हेलिकोप्टर बिहान रडारबाट सम्पर्कविहीन बनेको थियो। केही घण्टापछि हेलिकोप्टरको भग्नावशेष अदांसी, अशान्ति क्षेत्रमा फेला परेको हो।
सरकारले यो दुर्घटनालाई ‘राष्ट्रिय शोक’ को संज्ञा दिएको छ। रक्षामन्त्री बोआमहको निवास र पार्टी मुख्यालयमा शोकाकुल समर्थकहरूको भिड लागेको छ। स्थानीय बासिन्दाले घटनास्थलमा उद्धार कार्यमा सघाएको बताइएको छ।
सरकारी सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर Z9 मोडलको थियो, जुन सामान्यतया यातायात तथा स्वास्थ्य आपतकालीन सेवामा प्रयोग गरिँदै आएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन भने सेनाले घटनाबारे छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएको छ।






