बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

काठमाडौँ– काठमाडौँको बौद्ध क्षेत्रमा एक युवकमाथि खुकुरी प्रहार गर्ने घटनामा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा बस्दै आएका २७ वर्षीय सुरेन्द्र थोकरमाथि बौद्धस्थित लामा पेट्रोल पम्प अगाडि खुकुरी प्रहार भएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुलदिप चन्दका अनुसार घटनामा संलग्न धनकुटाको भेडेटार घर भई दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भई जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगरलाई काठमाडौँ महानगरपालिका–६ रामहिटी नजिकबाट बुधबार पक्राउ गरिएको हो।

खुकुरी प्रहारबाट घाइते भएका सुरेन्द्र थोकरको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको बायाँ कान पछाडिको भागमा चोट लागेको बताइएको छ। प्रहरीले घटनास्थल नजिकैबाट दुई वटा खुकुरी समेत बरामद गरेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार घटनाको अघिल्लो दिन मिनिरल वाटरको बोतलको विषयमा विवाद भएको थियो। सोही विवादको पछिल्लो प्रतिक्रियास्वरूप युवकहरूद्वारा खुकुरी प्रहार भएको खुलेको छ। दुवै आरोपी लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको बौद्ध प्रहरी वृत्तले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्