काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति तथा हाल रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने निर्णय गरेका छन्, जसले दुई मुलुकबीचको व्यापार सम्बन्धमा चिसोपन ल्याएको छ । यस निर्णयसँगै भारतबाट अमेरिका निर्यात हुने सबै सामानमा अब कुल ५० प्रतिशत भन्सार लाग्नेछ ।
ह्वाइट हाउसबाट जारी कार्यकारी आदेशमा ट्रम्पले रुसबाट भारतले निरन्तर रूपमा कच्चा तेल आयात गरिरहेकाले यस्तो कदम चालिएको उल्लेख गरिएको छ । यो आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ ।
भारतको कडा आपत्ति
अमेरिकी निर्णयपछि भारतको परराष्ट्र मन्त्रालयले यसलाई “अनुचित, अकारण र तर्कहीन” भनेको छ । भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षाका लागि रुससँगको तेल व्यापार अपरिहार्य भएको स्पष्ट पारेको छ । मन्त्रालयले भनेको छ, “अरू थुप्रै देशहरूले पनि राष्ट्रिय हितका लागि यही काम गरिरहेका छन् । भारतले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ ।”
ट्रम्पको निर्णयपछि भारतभित्र राजनीतिक प्रतिक्रिया
अमेरिकाको निर्णयपछि भारतको मुख्य विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि नै निशाना साधेको छ । कांग्रेसले सामाजिक सञ्जाल एक्समार्फत लेखेको छ, “मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाए । तर मोदीजी मौन छन् ।”
कांग्रेस नेता राहुल गान्धीले थप भने, “यो निर्णय आर्थिक ब्ल्याकमेल हो । प्रधानमन्त्रीले आफ्नो कमजोरी जनताको हितभन्दा माथि राख्न दिनुहुँदैन ।”
विशेषज्ञको चिन्ता : निर्यातमा ५० प्रतिशतसम्म गिरावट
दिल्लीस्थित थिंक ट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका प्रमुख अजय श्रीवास्तवका अनुसार यो निर्णयले भारतको अमेरिका तर्फको निर्यात ४०–५० प्रतिशतसम्म घटाउन सक्छ । “अहिले भारत अमेरिकी बजारमा चीन, भियतनाम र बंगलादेशभन्दा पनि बढी ट्यारिफ पाउने देश बन्दैछ,” उनी भन्छन् ।
उनका अनुसार, भारतको अमेरिकातर्फको ८६.५ अर्ब डलर बराबरको वार्षिक निर्यात संकटमा पर्नेछ । यिनमा कपडा, औद्योगिक सामग्री, र मेशिनरी प्रमुख छन् ।
दोहोरो मापदण्डको आरोप
भारतले अमेरिकी निर्णयलाई दोहोरो मापदण्ड भएको आरोप लगाएको छ । रुसबाट तेल आयात गर्नेमा चीन, युरोपेली संघ र अमेरिका स्वयं पनि परेका छन् । सन् २०२४ मा चीनले ६२.६ अर्ब डलरको, भारतले ५२.७ अर्ब डलरको र युरोपेली संघले २५.२ अर्ब डलरको तेल रूसबाट आयात गरेका थिए । अमेरिका स्वयंले पनि ३.३ अर्ब डलर बराबरको रणनीतिक संसाधन आयात गरिसकेको छ ।
श्रीवास्तव भन्छन्, “वाशिंगटन चीनमाथि कारबाही गर्न डराउँछ, किनभने चीनले अमेरिकी रक्षा र प्रविधि क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ नियन्त्रणमा राखेको छ ।”
ट्रम्प–पुटिन सम्पर्कपछि निर्णय
बीबीसीका अनुसार, ट्रम्पका विशेष दूत स्टीव विटकोफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि भारतमाथि थप ट्यारिफ लगाउने निर्णय सार्वजनिक भएको हो । यो भेटवार्ता युक्रेन युद्धविरामसम्बन्धी रूसी सहमतिका विषयमा भएको थियो ।
ट्रम्पको अस्पष्ट प्रतिक्रिया
एक पत्रकारले ट्रम्पलाई सोधेका थिए, “अमेरिकाले पनि रूसबाट युरेनियम, मल र रसायन आयात गर्छ, तर भारतको तेल आयातमा किन आपत्ति ?” जवाफमा ट्रम्पले भने, “मलाई यसको बारेमा थाहा छैन । जानकारी लिन्छु ।”
यसअघि पनि उनले रूसबाट तेल आयात गर्ने देशहरूलाई ट्यारिफको चेतावनी दिएका थिए । भारतले रूसबाट तेल किनेर अन्यत्र बेचेर मुनाफा कमाएको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।






