भौतिक पुर्वाधार मन्त्रालय: सुदूरपश्चिममा सडक, सिंचाइ, खानेपानी र आवास निर्माणमा उल्लेख्य उपलब्धि

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मन्त्री सुरेन्द्र बहादुर पालले सार्वजनिक रूपमा प्रदेशवासीप्रति धन्यवाद ज्ञापन गर्दै विभिन्न क्षेत्रका उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

मन्त्री पालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सीमित स्रोत, साधन र जनशक्तिको उच्चतम उपयोग गर्दै समग्र पूर्वाधार क्षेत्रमा सन्तोषजनक प्रगति भएको छ। सार्वजनिक विवरण अनुसार, कालोपत्रे, ग्राभेल र माटे गरी कूल ३५५.१६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। साथै, ६ वटा सडक पुल, ८५ वटा बहुवर्षीय योजना, र २६.८३४ किलोमिटर तटबन्ध निर्माण गरिँदा ३७.५ हेक्टर जमिन संरक्षणमा सहयोग पुगेको छ।

मन्त्रालयले यसै वर्ष प्रादेशिक सडक सञ्जाल गुरुयोजना (PTMP) स्वीकृत गरेको छ, जसमा ७० प्रदेश लोकमार्ग, ११९ सहायक मार्ग र १९० विशेष उद्देश्यका सडकहरू समावेश गरिएको छ। अछाम, बझाङ र दार्चुलाका बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडकखण्डहरूको पुनर्स्थापना अध्ययन प्रतिवेदनसमेत तयार पारिएको छ। त्यस्तै, विश्व बैंकको सहयोगमा कैलालीको चुरे गाउँपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा दुई वटा सडक निर्माण कार्यको ठेक्का सम्झौता भई कार्यान्वयनको चरणमा पुगेको छ।

सिंचाइ र ऊर्जातर्फ अपर–सुर्नायागाड र नौगाड जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (DPR) सम्पन्न भएको छ। नयाँ सिंचाइ योजनाबाट १,६८२ हेक्टर जमिन सिंचित हुने र पुराना योजनाको मर्मतबाट थप १३,९४७ हेक्टर जमिनमा सिंचाइ सुनिश्चित भएको छ। ३२ वटा डिप ट्युवेल जडान कार्य सम्पन्न भइसकेको छ।

खानेपानी सेवा विस्तारमा सुदूरपश्चिम अगाडि

मन्त्रालयका अनुसार, गत आर्थिक वर्षमा ८४१ इन्टेक, ५१६ पानी पोखरी, २,१३३ किलोमिटर पाइपलाइन र ४ वटा डिप ट्युवेल जडान गरी ११,९३९ घरधुरीलाई खानेपानी सेवा पुर्याइएको छ। १७३ योजना सम्पन्न भई ८३,५८५ जनाले आधारभूत तथा १९,२८७ जनाले मध्यमस्तरको सेवा पाएका छन्।

साथै, १३ अर्ब ३८ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको ‘खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा कार्यान्वयनको चरणमा रहेको छ। दिपायल सिलगढी नगरपालिका, बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकासँग लागत साझेदारीको सम्झौता सम्पन्न भइसकेको छ।

जनता आवासदेखि यातायातमा नीति सुधारसम्म

विपन्न लक्षित वर्गका लागि ११० वटा जनता आवास, ६ वटा सरकारी/सामुदायिक भवन, १० वटा खेल मैदान, ३ वटा पार्क र २ वटा कवर्ड हल निर्माण सम्पन्न गरिएको छ।

यातायात क्षेत्रमा सुदूरपश्चिम सवारी तथा यातायात व्यवस्था नियमावली २०८१ को दोस्रो संशोधन मस्यौदा स्वीकृत भइसकेको छ। यातायात कार्यालयमार्फत १ अर्ब ७ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री पालले प्रदेशवासीप्रति आभार व्यक्त गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ मा भौतिक पूर्वाधार विकासलाई अझ व्यवस्थित, दिगो र नागरिकमैत्री बनाउन सबैको सुझाव, साथ र सहभागिता अपेक्षित रहेको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्