नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको नवीन प्रयासले विद्यालयमै गणितको व्यावहारिक यात्रा

काठमाडौं – नेपालमै पहिलोपटक विद्यालयस्तरमा ‘म्याथ म्युसियम’ स्थापना गरिएको छ। एम्बार्क अनम्याथले सुरु गरेको यो कार्यक्रमले गणितलाई पाठ्यपुस्तकको पानाबाट बाहिर ल्याएर व्यवहारमा आधारित, अनुभवात्मक र विद्यार्थी–केन्द्रित बनाउने उद्देश्य राखेको छ। ‘म्याथ म्युसियम’ कार्यक्रम अन्तर्गत विद्यालयहरूमा यस्तो वातावरण बनाइन्छ, जहाँ विद्यार्थीहरूले गणितीय अवधारणालाई केवल पढ्ने होइन, छुन, निर्माण गर्न, प्रयोग गर्न र त्यसभित्रको सौन्दर्य बुझ्न सकून्।

एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भने, “हामीले यो कार्यक्रममार्फत् देखाउन खोजेका छौं कि गणित केवल संख्याको विषय होइन, यो आकार, कथा र अन्वेषणको विषय पनि हो। जब विद्यार्थीहरूले विषयवस्तुलाई मनन गर्न पाउँछन्, उनीहरूले संसारभर गणित देख्न थाल्छन्।”उनका अनुसार यो पहलले विद्यार्थीहरूको जिज्ञासा बढाउनुका साथै उनीहरूलाई नेतृत्वदायी सिकाइतर्फ प्रेरित गर्छ। यस कार्यक्रमले शिक्षकहरूलाई पनि गणित सिकाउने नयाँ तरिकाहरू प्रदान गर्छ, जसले सिकाइलाई अझ प्रभावकारी बनाउँछ।

सहभागी विद्यालयहरूले ‘म्याथ म्युसियम’लाई अन्तरक्रियात्मक सिकाइ केन्द्र बनाउँदै सामुदायिक कार्यक्रम सञ्चालन गर्ने, प्रदर्शनीका लागि ठाउँ छुट्याउने र प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर दिने भूमिका निर्वाह गर्छन्। कार्यक्रम सम्पन्न भएपछि पनि एम्बार्क अनम्याथले सम्बन्धित विद्यालयसँग निरन्तर सहकार्य गर्दै ‘म्याथ म्युसियम’लाई विद्यालयको स्थायी सिकाइको अङ्ग बनाउने लक्ष्य राखेको छ। गणितसँगको डर हटाउँदै प्रेम र खोजको सम्बन्ध विकास गर्ने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रमले देशभरका विद्यालयहरूमा गणित सिकाइको नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्