काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा आज (सोमबार) साँझ ५ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भइसकेको छ र आजै साँझ बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ।
पठनपाठन तथा मूल्याङ्कनमा ढिलाइ भए पनि बोर्डले साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने वार्षिक कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाएको हो। तर, गत २० चैतदेखि सुरु भएको शिक्षक आन्दोलनका कारण समयमै नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जनाएको छ। आन्दोलनका कारण ११ वैशाखमा तय गरिएको परीक्षा तालिका २१ वैशाखदेखि मात्रै सुरु हुन सकेको थियो।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए। बोर्डका अनुसार मूल्याङ्कन, प्रविष्टि र परीक्षणका सम्पूर्ण चरण सकिएको छ र आज बैठकपछि नतिजा वेबसाइट तथा एसएमएसमार्फत सार्वजनिक गरिनेछ।
विद्यार्थी तथा अभिभावकहरू बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np, www.neb.ntc.net.np तथा नेपाल टेलिकमको एसएमएस सेवा मार्फत नतिजा हेर्न सक्नेछन्।






