काठमाडौँ – माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्दैछ, जसमा ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा साउन २९ र ढिलोमा भदौ ९ गते बन्द हुनेछ। इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग बी+” प्रदान गरेको छ।
माबिलुङ्ग इनर्जीको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। आवेदन सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।






