काठमाडौँ – पछिल्लो २४ घण्टामा पूर्वी नेपालका उदयपुर, झापा र सिरहा जिल्लामा देशभरमै सबैभन्दा बढी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा उदयपुरको गाईघाट स्टेशनमा १३४.६ मिलिमिटर मापन गरिएको छ।
झापाको अनारमनीमा १२४.२, दमकमा ११७.२, चन्द्रगढीमा १०३.४ तथा सिरहाको सिरहा हाइड्रोमा १०३ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कले देखाएको छ। वर्षासँगै नदीहरूको सतह उच्च भएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले आवश्यक परेमा बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको बताउनुभयो। कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले नदीको बहाव बढेकाले सम्भावित जोखिम क्षेत्रलाई नजिकबाट निगरानी गरिरहेको जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जोखिमयुक्त स्थानको अनुगमन र आवश्यक उद्धार तथा राहतको तयारी थालिएको बताए। एशियन हाइवेअन्तर्गत मेचीनगरका कालीखोला, इलिफेन्ट क्रसिङ र भालुखोला डाइभर्सनमा क्षति पुग्न सक्ने भन्दै आयोजनाले कर्मचारी तथा उपकरण तयारी अवस्थामा राखेको छ।
यसैबीच, केही समययता सुक्खाग्रस्त रहेको मधेश क्षेत्रमा परेको वर्षाले किसानहरूलाई राहत पुगेको छ। सरकारले विपद् संकटग्रस्त घोषणा गरेको क्षेत्र भएकाले वर्षा प्रभावकारी बनेको हो।







