कैलालीमा १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या

कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिकामा एक किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ। शनिबार बिहान बर्दगोरिया–१ स्थित ‘राजधानी सेकुवा एण्ड म:म सेन्टर’मा कार्यरत १७ वर्षीया याचना सेजवालको चक्कु प्रहारबाट ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, बिहान करिब १० बजे सेजवालमाथि सोही सेकुवा सेन्टरमा काम गर्ने ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए।

हत्या आरोपमा साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जना सोही होटलमा काम गर्ने गरेका थिए भने घटनाको कारण अझै खुल्न नसकेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार याचना सेजवाल बर्दगोरिया गाउँपालिका–३ की बासिन्दा हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिने तयारी भइरहेको छ।

स्थानीयवासी र परिवारजन घटनाबाट स्तब्ध भएका छन्। प्रहरीले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्