काठमाडौं — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा दिन लागेका छन् ।
लामाले छिट्टै पद त्याग गर्ने उनी निकट स्राेतले जनाएको छ । मुख्यमन्त्रीको एक वर्षे कार्यकाल पूरा गरेका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भइसकेको छ । नयाँ दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन्, जसलाई कांग्रेसले मुख्यमन्त्री बनाउने तयारी गरिरहेको छ । लामाले सुरुमा एक वर्षपछि पद छाड्ने सहमति गरेको भनिए पनि पछि राजीनामा नदिने अडान लिएपछि असन्तुष्ट पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बागमतीमा कांग्रेस र एमालेको गठबन्धन सरकार सञ्चालनमा छ । पछिल्लो विवादबारे बिहीबार बालुवाटारमा कांग्रेस र एमाले शीर्ष नेताबीच छलफल भएको थियो ।






