काठमाडौं — चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार अभद्र व्यवहारको आरोपमा पक्राउ परेका ४७ जनामध्ये १९ जनामाथि अनुसन्धानका लागि म्याद थपिएको हो। बाँकीलाई हाजिरी जमानीमा छाडिएको छ।
म्याद थप हुनेमा चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, ऋतिक लामा, राजु परियार, सफल शाहीलगायत छन्।
प्रहरीका अनुसार मिलनको जन्मदिन मनाउने नाममा काठमाडौंमा होहल्ला र आतंक फैलाएको भन्दै बिहीबार राति महाराजगन्जस्थित साम्बाला होटलमा सर्च अपरेशन चलाइएको थियो। प्रहरी टोलीले होटलबाट ४७ जनालाई नियन्त्रणमा लिएको हो। तलासीमा दुई खुकुरी, पेपर स्प्रे र रडसमेत फेला परेको प्रहरीले जनाएको छ।






