काठमाडौं — नेपाली सेयर बजार बिहीबार पनि ओरालो लागेको छ। अघिल्लो दिन ४८ अंकले घटेको बजार आज पुनः ३१.५० अंकले घटेर २,९२२ बिन्दुमा कायम भएको छ। कारोबार अवधिभर बजार उतारचढावपूर्ण देखिए पनि अन्तिम समयमा परिसूचक न्यूनतम विन्दुमा झरेको हो।
बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोड रुपैयाँमा झरेको छ। दिनभरको कारोबारमा ५२ कम्पनीको मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ।
समूहगत रूपमा फाइनान्स बाहेकका सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै व्यापार समूह २.४४ प्रतिशतले घट्दा फाइनान्स समूह भने १.१८ प्रतिशतले बढेको छ। बैंकिङ, हाइड्रोपावर, बीमा, माइक्रोफाइनान्सलगायतका समूहमा एक प्रतिशत हाराहारीको गिरावट देखिएको छ।
यसैबीच तीन कम्पनी — ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक — को सेयर मूल्य १० प्रतिशतले बढेको छ। अन्य उल्लेखनीय रूपमा वृद्धि भएका कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र सान्भी इनर्जी रहेका छन्।
आज भूगोल इनर्जी, माइखोला हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ।
धेरै कारोबार हुने शीर्ष पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक रहेका छन्।
यसैबीच, जोशी हाइड्रोपावरको हकप्रद सेयरमा बिहीबारदेखि आवेदन खुलेको छ। साथै नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीले आगामी माघ मसान्तसम्म न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्याउने तयारीमा रहेको छ।






