काठमाडौं – करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीस्थित एक बहुउद्देश्यीय सहकारीका अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष अशोक केसी हुन्।
दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भई हाल रुपन्देहीमा बसोबास गर्दै आएका ३४ वर्षीय केसीलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी गणेश सापकोटाले जानकारी दिए। सहकारीका अध्यक्ष केसीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको गम्भीर आरोप लागेको छ। यस सम्बन्धमा २०८१ साल वैशाख २० गते नै पक्राउ पूर्जी जारी गरिएको थियो।
प्रहरीका अनुसार, उनले अध्यक्षका हैसियतमा सहकारी सञ्चालन गर्दा संस्थाको ठूलो मात्रामा रकम अपचलन गरी सदस्यहरूको बचत डुबाएको उजुरीहरू परेपछि अनुसन्धान सुरु गरिएको थियो। पक्राउ परेका केसीमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सहकारीमार्फत ठगी र अपचलनका घटनाहरू पछिल्ला वर्षमा बढ्दो क्रममा रहेकाले यस्तो गतिविधिमा संलग्नहरूलाई कडाइका साथ कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले चेतावनी दिएको छ।






