बालुवाटारमा कांग्रेस–एमाले छलफल : मन्त्री हेरफेरबारे देउवाको अडानपछि ओलीलाई बाटो खुल्ने संकेत

काठमाडौं – सत्तारुढ प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री हेरफेरसहित सरकारका कामकारबाहीबारे छलफल गर्न बालुवाटारमा शीर्ष तहको छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा दुबै दलका शीर्ष नेताहरू सहभागी भएका थिए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक तथा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटपछिको चरणमा मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारी गरे पनि नेपाली कांग्रेसको स्पष्ट निर्णय नआएकाले प्रक्रिया ढिलो भएको स्रोतले जनाएको छ। आजको छलफलमा प्रधानमन्त्री ओलीले देउवासँग मन्त्री हेरफेरबारे स्पष्ट धारणा मागेका छन्।

नेपाली कांग्रेसले भने मन्त्री हेरफेरले पार्टीभित्र किचलो निम्त्याउने भन्दै हालका मन्त्रीहरूलाई निरन्तरता दिने संकेत दिएको छ। यदि देउवाले आफ्ना मन्त्रीहरू नफेर्ने अडान कायमै राखे, एमाले पक्षले चाहेका मन्त्री परिवर्तनका लागि ओलीलाई सहज वातावरण बन्ने देखिन्छ।

एमालेभित्र प्रधानमन्त्री ओलीमाथि कार्यसम्पादनमा कमजोर देखिएका र विवादमा तानिएका केही मन्त्रीहरूलाई हटाउन दबाब छ। एमाले स्रोतका अनुसार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेबाहेकका अधिकांश मन्त्री फेरबदल हुनसक्ने संकेत मिलेको छ।

सरकार सञ्चालनमा गतिशीलता ल्याउने उद्देश्यले प्रधानमन्त्री ओलीले अब छिटै मन्त्रीपरिषद् पुनर्गठनको कदम चाल्ने सम्भावना रहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्