काठमाडौँ – रामेछाप जिल्लाको सुनापति गाउँपालिका पछिल्ला वर्षहरूमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र सीपमूलक तालिममार्फत समग्र विकासतर्फ अघि बढिरहेको छ। गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता भन्दा पनि बढी काम गर्ने प्रयास गरिरहेको बताएका छन् । मेघा टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने “हामीले पाँच वर्षे कार्यकालका लागि केही प्रतिबद्धता गरेका थियौं, तर ती भन्दा बढी काम गर्न लागिपरेका छौं, काठमाडौँमा भन्दा गाउँमा विकास गर्न निकै कठिन छ, तर हामी पछि हटेका छैनौं।”
शिक्षा सुधारमा विशेष ध्यान
गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार हाल सुनापति गाउँपालिकामा १८ वटा विद्यालय सञ्चालनमा छन् । जसमा ९ वटा उच्च माध्यमिक विद्यालय छन्। विद्यार्थी संख्या करिब २ हजार ३ सय भन्दा बढी पुगेको छ। शिक्षा क्षेत्रमा सुधार ल्याउन विद्यार्थी न्यून रहेका विद्यालयहरूलाई मर्ज गरेर गुणस्तरीय शिक्षा प्रवाहमा ध्यान दिइएको गाउँपालिकाले जनाएको छ।
रोजगारी सिर्जनाको लागि गलैचा, थाङ्का लगायत सीपमूलक तालिमहरू दिइँदै छन्। ६०० भन्दा बढी युवालाई गलैचा र थाङ्का उत्पादन तालिम दिइसकिएको र उनीहरूले गाउँमै बसेर आयआर्जन गर्न थालेको अध्यक्ष तामाङले जानकारी दिए ।
स्वास्थ्य पूर्वाधार तयार, सेवा भने सुरु हुन बाँकी
गाउँपालिकाका पाँचवटै वडामा स्वास्थ्य इकाइहरू र चौकीहरू सञ्चालनमा छन्। एक अस्पताल भवन निर्माण सम्पन्न भइसकेको छ । तर उपकरण र दक्ष जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको छैन।
“हामी स्वास्थ्य मन्त्रालयमा निरन्तर छलफल गरिरहेका छौं,” अध्यक्ष तामाङले भने, “अस्पताल त बन्यो, तर सेवा दिन सक्ने संरचना अझै अधुरो छ।”
खानेपानी र सडकमा ठूला लगानी
‘एक घर, एक धारा’ योजना प्रभावकारी रूपमा अघि बढिरहेको छ। हालसम्म ८० प्रतिशतभन्दा बढी घरमा धारा जडान भइसकेको छ भने बाँकीका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएको अध्यक्ष तामाङले जानकारी दिए ।
त्यसैगरी, मध्य पहाडी लोकमार्गबाट सुनापति गाउँपालिकासम्मको १६ किलोमिटर सडक पिच गर्ने कार्य अघि बढिरहेको छ। गाउँपालिकाका अधिकांश टोलटोलमा सडक पुगिसकेको छ।
पर्यटन प्रवर्द्धनको सम्भावना
सुनापति डाँडामा ३५ फिट अग्लो शिव मन्दिर निर्माणाधीन छ। जनैपूर्णिमा लगायतका मेलामा विगतमा ५०–६० जना झाँकी जाने गरेका थिए भने अब त्यो संख्या एक सय भन्दा बढी पुर्याउने योजना बनाइएको छ। उक्त डाँडाबाट धुलिखेल, सिन्धुलीगढी, शैलुङ र विभिन्न हिमालहरू देखिने भएकाले पर्यटनको राम्रो सम्भावना रहेको गाउँपालिकाका अध्यक्षको भनाइ छ । पर्यटक आकर्षित गर्नका लागि होमस्टेहरू सञ्चालनमा आइसकेका छन् भने रिसोर्ट सञ्चालनको तयारी भइरहेको अध्यक्ष तामाङको भनाइ छ। नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विस्तारमा जोड दिइएको छ।
स्थानीय उत्पादन र आय स्रोत
गाउँपालिकाको प्रमुख आयस्रोत थाङ्का, गलैचा र बुद्ध चित्तको माला लगायतका उत्पादन हो । यी उत्पादनहरूबाट व्यवसाय गरिरहेका स्थानीयहरूले पालिकालाई कर तिर्न थालेका छन्। अध्यक्ष तामाङका अनुसार, यी स्थानीय उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना छ।
चुनौती र भविष्यको लक्ष्य
भूकम्पपछिको पुनःनिर्माणको बेला एकीकृत बस्ती विकास योजना ल्याउन सकिने भए पनि अहिले भने कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको अध्यक्ष तामाङ बताउनुहुन्छ। त्यसबेला सोचिएको भए थुप्रै काम गर्न सकिन्थ्यो, अहिले व्यक्तिगत जग्गामा नै घर बनिसकेकाले सजिलो छैन,उहाँले भने।
गाउँपालिकाको बजेट सीमित भएको भन्दै अध्यक्ष तामाङले सरकारसँग गुनासो गरे। “कतिपय पालिकाले खर्च गर्न नसक्ने हुँदा बढी बजेट पाउँछन्, तर हामीजस्ता सक्रिय पालिकाले भनेजति बजेट नपाउँदा काम गर्न बाधा पर्छ,” उनले स्पष्ट पारे। यद्यपि, दुई वर्ष बाँकी कार्यकालमा अरू पालिकाभन्दा सुनापतीलाई फरक बनाउन लागिपरेको बताउँदै अध्यक्ष तामाङले भने,“गाउँलेले हाम्रो काम महसुस गर्न थाल्नुभएको छ, अझै धेरै गर्न बाँकी छ।”






