माओवादी केन्द्रको स्थायी समिति बैठकका एजेन्डा तय, शुक्रबार बस्दै बैठक

File Photo

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले आगामी स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रमुख एजेन्डाहरू तय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो एजेन्डा तय गरेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

सापकोटाका अनुसार, बुधबारको बैठक औपचारिकभन्दा पनि अनौपचारिक प्रकृतिको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समितिमा वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने तयारी रहेको छ।

“स्थायी समिति बैठकको एजेन्डा तय गरेका छौँ,” सापकोटाले भने, “मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिने, केन्द्रीय समितिको बैठकको मिति तय गर्ने, समाजवादी मोर्चाको थप विस्तार गर्ने, संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकता सुदृढीकरणबारे छलफल हुने छ। साथै, बाढी–पहिरो लगायतका समसामयिक विषयमा प्रस्ताव तयार पारिनेछ।”

सापकोटाले पार्टीभित्रको आन्तरिक एकता सुदृढीकरणलाई नियमित र दीर्घकालीन एजेन्डाको रूपमा लिने गरिएको उल्लेख गरे। यद्यपि बैठकमा उपमहासचिव जनार्दन शर्मासम्बन्धी विषयमा कुनै छलफल नभएको जानकारी उनले दिए। “स्थायी समिति बैठकको पूर्वसन्ध्यामा प्रवक्ताले आन्तरिक अन्तर्विरोधबारे बोल्नु उपयुक्त हुँदैन,” उनले प्रष्ट पारे।

माओवादी केन्द्रको स्थायी समिति बैठक आगामी शुक्रबार बस्नेछ। बैठकमा संगठनात्मक विषयसँगै समसामयिक राजनीतिक परिस्थिति, मोर्चागत रणनीति र भावी कार्ययोजनालाई प्राथमिकताका साथ छलफल हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्