बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकियो

हेटौंडा – बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकिएको छ। बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्री नियुक्त गरेका थिए।

शपथ समारोह बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा तय गरिएको थियो र त्यसको जानकारी सम्बन्धित निकायलाई दिइएको थियो। तर अन्तिम समयमा आएर शपथ हुन सकेन।

नेकपा एमालेले राजनीतिक रूपमा संवेदनशील अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु उपयुक्त नहुने भन्दै असहमति जनाएपछि शपथ प्रक्रिया रोकिएको हो।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोनमार्फत सरकार विस्तार नगर्न आग्रह गरेका थिए। मन्त्री नियुक्ति र शपथले “गलत सन्देश” जाने भन्दै उनले चेतावनीसमेत दिएका थिए। एमालेको यस्तो आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्