काठमाडौँ – चीनको तिब्बत हुँदै नेपाल भित्रिने भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार बिहान २ बजेदेखि नदीको बहाव तीव्र रूपमा बढेको जानकारी रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले दिएका छन्।
उनका अनुसार भोटेकोशीको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाइरहेको बाटो बगाएको छ भने टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा समेत बगाएको छ। मंगलबार राति पानी परे पनि हाल रसुवामा वर्षा नभएको प्रशासनले जनाएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको जनाउँदै बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। यसअघि सोमबार रसुवा प्रशासनले एक सूचना जारी गर्दै भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढीको सम्भावना रहेको जानकारी गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको थियो।
जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षको पूर्वानुमान अनुसार आगामी केही दिनमा भारी वर्षा हुने सम्भावना रहेकाले नदीमा बहाव अझै बढ्न सक्ने चेतावनी दिइएको छ। गत वर्ष असार २४ गते आएको भोटेकोशीको बाढीले नेपाल र चीन दुवै तर्फ ठूलो जनधनको क्षति पु¥याएको स्मरण गर्दै प्रशासनले नागरिकलाई सतर्क र सजग रहन पुनः आह्वान गरेको छ।







