दार्चुला – दार्चुला जिल्लाको लेकम गाउँपालिका–६, तेलिगाउँका कलाकार तथा रास्वपा लेकमका सभापति महेश नाथको आवाज र शब्दमा तयार पारिएको देउडा गीत ‘लेकम मेरो देवभूमि’ सार्वजनिक गरिएको छ।उक्त गीतमा लेकम क्षेत्रको पवित्र शक्तिपीठ, ऐतिहासिक मन्दिरहरू, पुरातात्विक सम्पदा र धार्मिक महत्वलाई गीतमार्फत उजागर गरिएको छ। गीतमा संगीत सुदूरपश्चिमका चर्चित देउडा संगीतकार महेश कुमार औजीले दिएका छन्।
उपहार मिडियासँग संक्षिप्त प्रतिक्रिया दिदैँ गायक तथा सर्जक महेश नाथले भन्नुभयो “मानिसको पहिलो पहिचान नै उसको संस्कृति हो। नेपाली माटोको एक अनुपम र ऐतिहासिक रत्न लेकम। जसको काखमा आस्था, परम्परा, र पुरातात्विक वैभव समेटिएको छ।”
“त्यही पवित्र भूमिलाई समर्पण गर्दै मेरो नयाँ सांगीतिक सिर्जना, ‘लेकम मेरो देवभूमि’ सबैमा अर्पण गरेको छु। लेकमको ऐतिहासिकता, धर्म, संस्कृति, पौराणिक आख्यान, पुराना मन्दिरहरू, पवित्र र अपार सम्भावनाले भरिएको धार्मिक तथा ऐतिहासिक पर्यटकीय सौन्दर्य यी सबैलाई सम्मानका साथ शब्दमा उतार्ने प्रयत्न गरेको छु।”
गीतले लेकम क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदालाई गीतमार्फत उजागर गर्ने प्रयास गरेको छ। गायक नाथका अनुसार, यो गीत केवल संगीत मात्र नभई लेकम क्षेत्रको सांस्कृतिक र धार्मिक पहिचानको दस्तावेज समेत हो। गीत गायक नाथकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो, जसलाई देउडा संगीतप्रेमीहरूले विभिन्न सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन्। गीतमा लेकम क्षेत्रका मन्दिर, सांस्कृतिक परम्परा, गाउँबेसी र पूजाआराधनाका दृश्यहरू समावेश गरिएको छ, जसले उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गायक महेश नाथ यसअघि पनि ‘दिलकी रानी’ बोलको गीतमार्फत दर्शकमाझ पुगिसकेका छन्। उनले उत्पादन गरेको उक्त गीत ‘धिताल फिल्मस्’ मार्फत सार्वजनिक भएको थियो। ‘लेकम मेरो देवभूमि’ गीत नाथको सांगीतिक यात्राको अर्को खड्किला हो। धार्मिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने खालको यो गीतले सुदूरपश्चिमको सांगीतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।






