पूर्वराष्ट्रपति भण्डारीलाई कार्यकर्ता बनाइनुहुँदैन भन्ने एमालेको अन्तरपार्टी निर्देशन

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको हालै सम्पन्न नवौं बैठकको निर्णयअनुसार पार्टी मातहतका सबै कमिटीलाई ‘अन्तरपार्टी निर्देशन’ (अपानि) पठाएको छ। उक्त निर्देशनमा विशेष रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे स्पष्ट सन्देश दिइएको छ।

अपानि अनुसार पूर्वराष्ट्रपति भण्डारी सिङ्गो राष्ट्रको नेता र गौरव भएकाले उहाँलाई पार्टीको कार्यकर्ता बनाउनु नहुने उल्लेख गरिएको छ। निर्देशनमा भनिएको छ, “सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हुँदैन। सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन। पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्। उहाँ राष्ट्रको गहना हो, हाम्रो पनि गहना हो।”

निर्देशनमा भण्डारीको पार्टी सदस्यता नवीकरणसम्बन्धी प्रक्रिया पनि नमिलेको उल्लेख गरिएको छ। पछिल्लो समय पार्टी एकतालाई प्रभावित पार्ने गरी भण्डारीको भूमिकालाई लिएर केही बहसहरू उठेका थिए। केन्द्रीय कमिटीको निर्णयअनुसार अब उक्त विषयमा अनावश्यक विवाद र छलफल नगरिनुपर्ने अपानिमा भनिएको छ।

एमाले नेतृत्वले पूर्वराष्ट्रपतिको गरिमा र सम्मानलाई ख्याल गर्दै अब कुनै पनि अभिव्यक्तिले उहाँको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य नगर्न निर्देशन दिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्