काठमाडौं — हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट सम्पन्न भएको छ। बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयमा आज एफपीओ बाँडफाँट गरिएको हो। बैंकले असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन गरेको थियो।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए। तीमध्ये १ लाख २१ हजार ६४९ जनाको आवेदन अस्वीकृत भएको र १७ लाख ४ हजार २७३ जना लगानीकर्ताको आवेदन स्वीकृत भएको बैंकले जनाएको छ।
स्वीकृतमध्ये ९ लाख २५ हजार ४६ जना मात्र सेयर प्राप्त गर्न सफल भएका छन्। तीमध्ये ९ जनाले ११ कित्ता र बाँकी ९ लाख २५ हजार ३७ जनाले १० कित्ता सेयर पाएका छन्। कुल स्वीकृत आवेदनमध्ये ५४.२७ प्रतिशतले मात्र सेयर प्राप्त गरेका हुन्।
धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार सेयर पुग्नेलाई १० कित्ताका दरले बाँडफाँट गरिएको हो। बाँकी ‘अड लट’बाट थप १–१ कित्ताका दरले बाँडफाँट गर्दा ९ जनाले ११ कित्ता प्राप्त गरेका हुन्।
यस एफपीओ अन्तर्गत बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर प्रतिकित्ता १५७ रुपैयाँमा निष्कासन गरेको थियो। सोमबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको थियो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सर्वसाधारणको स्वामित्व हिस्सा कम्तीमा ३० प्रतिशत पुर्याउनुपर्ने प्रावधानअनुसार एफपीओ जारी गरिएको हो। हाल बैंकको सार्वजनिक स्वामित्व हिस्सा २७ प्रतिशत रहेको छ।
एफपीओ बाँडफाँटको नतिजा केही समयपछि iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।






